news-details

तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

  • 219
    Shares

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कालीकोटको नरहरिनाथ गाउँपालिका–१ लालीघाटस्थित टिप्पर दुर्घटनामा परी मृत्यु भएकाप्रति शोक व्यक्त गरेका छन् ।

उनले बुधवार एक शोक वक्तव्य जारी गर्दै ‘कोभिड–१९’ले निम्त्याएको समस्याका कारण विभिन्न ठाउँबाट घर फर्किने क्रममा बुधवार बिहान लालीघाटको दुर्घटनाले आफूलाई स्तब्ध बनाएको बताए ।

मुख्यमन्त्री शाहीले दुर्घटनामा निधन भएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जलि एवं शोकसन्तप्त परिवारजनप्रति धैर्य गर्न आग्रह गर्दै गहिरो समवेदना व्यक्त गर्नाका साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

दुर्घटनाको खबर पाउनेबित्तिकै उद्धार तथा प्रारम्भिक उपचारमा खट्ने सुरक्षा निकाय, स्वास्थ्यकर्मी, स्थानीय तहका जनप्रतिनिधि एवं सूचना सम्प्रेषण गर्ने सञ्चारकर्मीलाई समेत उनले धन्यवाद दिए ।

अकल्पनीय र पीडादायी दुर्घटनामा घाइतेहरूको शीघ्र उद्धार तथा उपचारका लागि हेलिकप्टर लिएर मुख्यमन्त्री शाही २ः४० बजे घटनास्थलतर्फ लागेका छन् । घाइतेको तत्काल उद्धार तथा उपचारका लागि मुख्यमन्त्री शाही, कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार पन्त हेलिकप्टर लिएर कालीकोट गएका प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले जानकारी दिए ।

कालीकोटको नरहरीनाथ गाउँपालिका–१ लालीघाटबाट रास्कोट नगरपालिकातर्फ जाँदै गरेको ना८ख ५१३३ नम्बरको टिप्पर बुधवार बिहान कर्णाली नदीमा खसेर दुर्घटना भएको थियो । टिप्परमा ३९ यात्रु सवार रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए रासस

सम्बन्धित पोष्टहरू